शिक्षामा लगानी बढाउन सरकार प्रष्ट छ : शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताएका छन् ।

आगामी वर्षहरूमा अर्थतन्त्रको प्रगतिसँगसँगै शिक्षामा बजेट बढाएर राख्ने मन्त्री राईको भनाई थियो । आइतबार प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले मुलुकको अर्थतन्त्रको बढोत्तरी नभएसम्म भने कुनैपनि क्षेत्रमा लगानी वृद्धि गर्न सकिने अवस्था नरहने स्पष्ट पारे ।

‘हाम्रो अर्थतन्त्रले धानेसम्म शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार पनि प्रष्टै छ। यस पाली कुल बजेटको ११ दशमलव २७ प्रतिशत लगानी रहेको छ भने आउने वर्षहरुमा त्यो भन्दा अर्थतन्त्रको प्रगतिसँगसँगै त्यो भन्दा बढि बजेट बढाएर राख्न सकिने कुरा पनि म निवेदन गर्न चाहन्छु,’ उनले भने, ‘तर सबै चीजको निर्णायक विषय चाँही के हो भने अर्थतन्त्रमा बढोत्तरी हुनु पर्‍यो । अर्थतन्त्रमा प्रगति हुनुपर्‍यो । उद्योगधन्दा खुल्नुपर्‍यो । बन्दव्यापार फुल्नु, फल्नुपर्‍यो। कृषि उपजमा प्रगति हुनु पर्‍यो । यो सबै कुराको सामरिक असर शिक्षामा पनि पर्नेकुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु ।’

मन्त्री राईले विज्ञहरूसँग थप छलफल गरेर सो विधेयकलाई समृद्ध बनाउन पनि सरकार तयार रहेको पनि बताए । उनले सरकारले शिक्षक, विद्यार्थी र अभिभावकको जायज मागलाई सम्बोधन गरेर नै सो विधेयकलाई अघि बढाउने पटकपटक दोहोर्‍याए ।