माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले चिनियाँ व्यापारीले ल्याएको भेपलाई लिएर आफूले भन्सार कार्यालयका प्रमुखलाई फोन गरेको स्वीकार गरेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कागज गर्दै उनले फोन गरेर मिल्छ भने हेरिदिनू भनेको स्वीकार गरेका हुन् । गत सोमबार सीआईबीले महरालाई बयान कागज गर्नका लागि कार्यालयमै बोलाएको थियो ।
विद्युतीय सिगरेट (भेप)मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गरेको सीआईबीले आइतबार सरकारी वकिलको कार्यालयमा बुझाएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छैन ।
महराले गरेको बयान कागज भने प्रचिवेदनमा संलग्न छ, जसमा महराले ७३० थान भेप भन्सार कार्यालयले जफत गरेको तीन दिनपछि दावोजिन वाङले के भएको हो बुझिदिनुपर्यो भनेर आफूलाई भनेको बताएका छन् । ‘मैले अरुण पोखरेललाई पहिलादेखि चिनेको हुनाले के कसो भएको हो ? कानुन बमोजिम के गर्न मिल्छ, हेरिदिनु होला भनेर फोन गरेको हो’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन् ।
२०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक लि हङसङले दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट ल्याएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा उक्त सामान पक्राउ गरिएको थियो ।
त्यसपछि कृष्णबहादुर महराका छोरा राहुल भन्ने रेशम महरा भन्सार प्रमुखको सम्पर्कमा गएको पनि बाबु कृष्णबहादुरले कागजमा खुलाई दिएका छन् ।
‘मेरा छोरा राहुल भन्ने रेशम महरा के कारणले इलेक्ट्रिक सिगरेट (भेप्स) जफत भएको रहेछ, कानुन बमोजिम मिल्ने भए सहयोग गरिदिनु भनि अरुण पोखरेलको सम्पर्कमा गएका हुन्’, महराको कागजमा उल्लेख छ ।
सीआईबी स्रोतका अनुसार महराले चिनियाँ नागरिक दावाजिन वाङसँग पुरानो चिनजान भएको बताएका छन् । दावाजिनले महरालाई फलफुल व्यापारीको रुपमा नेपालमा व्यापार गरिरहेको भनि चिनाएको र उनीसँग टेलिफोनमा कुरा हुने गरेको पनि महराले बताएका छन् ।
अन्य विषयमा कुनै कुरा नहुने र कुनै किसिमको सम्बन्ध पनि नरहेको महराको दाबी छ ।