राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन, कृष्ण पहाडीसहित ११ जना पक्राउ

मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गरेको छ । संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको संभावित आर्थिक चलखेलबारे गहिरो छानविन गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा शान्तिवादीहरुले राष्ट्रपति महोदयः न्यायको सार्वभौम मान्यता विपरित माफी मिनाहाको घोषणा किन ?, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने ?, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, हत्या हिंसा महिमामन्डन गर्न पाइदैँन, हत्यालगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

सो क्रममा प्रहरीले सहभागीहरु मध्येबाट शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनी लगायतलाई गिरफ्तार गरि प्रहरी वृत्त महाराजगञ्जमामा राखेको छ ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति पौडेलले योग ढकाल (रिगल)लाई आममाफी दिएका थिए। उक्त आममाफीपश्चात् राष्ट्रपतिको चौतर्फी आलोचना हुँदै आइरहेको छ ।

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घट्नामा संलग्नअन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए ।