सुन्धाराको होटलमा मृत भेटिइन् युवती

काठमाडौंको सुन्धारास्‍थित एक होटलमा युवती मृत फेला परेकी छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित श्री गुरू गेष्ट हाउसमा बसेकी २० वर्षीया भूमिका राउत मृत अवस्थामा भेटिएको प्रहरी वृत्त, जनसेवाले जनाएको छ ।

जनसेवाका एक प्रहरी अधिकृतका अनुसार, ललितपुरको इमाडोल घर भएकी उनी ८ असोजदेखि त्यहाँ बस्दै आएकी थिइन् । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले विषको बट्टा पनि बरामद गरेको छ । एक अधिकृत भन्छन्, ‘पोष्टमार्टम र भिसेरा जाँचपछि मृत्युको कारण स्पष्ट होला ।’

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।