यमप्रसाद अधिकारीलाई प्रधान सेनापति बनाउने भन्ने कुरा झुटो हो: उपप्रधानमन्त्री खड्का

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधान सेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उमेर र अवधिले भ्याउँदा एक पटकलाई ३ वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई ३ वर्ष पदावधि थपिएको रक्षामन्त्री खड्काको भनाइ छ ।

रक्षामन्त्री खड्काले अधिकारीलाई प्रधान सेनापति बनाउने प्रपञ्च हुँदैछ भन्नेजस्ता भ्रम नछर्न आग्रह गरे । उनले नियमावली परिमार्जन गरेर अधिकारीलाई प्रधान सेनापति बनाउने कुरा झुटो रहेको पनि बताए ।

नेपाली सेनाको प्रधान सेनापति हुनका लागि निश्चित मापदण्ड रहेको खड्काले स्मरण गराए । सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने रक्षामन्त्री खड्काले बताए । उनले यमप्रसाद अधिकारी प्रधानसेनापति बन्ने सम्भावनाको कुरा सबै गलत भएको गरे ।

उपप्रधान एवं रक्षामन्त्री खड्काले सरकार सूचना प्रविधिलाई विकास, आर्थिक रुपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानून, योजना बनाउँदै अघि बढ्ने बताए ।