दसैं मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सघ-संस्था बन्द भएपछि दसैं मनाउनका लागि यात्रु गाउँ फर्किन थालेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
उनका अनुसार आइतबार बिहानदेखि सोमबार बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन् । शनिबार बिहानदेखि आइतबार बिहानसम्म ५१ हजार २७९ र शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म ४७ हजार ६४३ यात्रु बाहिरिएका हुन् ।
ट्राफिक प्रहरीले २४ घन्टाको रेकर्ड राख्ने गरेको छ । दसैंको दोस्रो दिन चलिरहँदा बाहिरिनेको संख्या बढिरहेको एसएसपी भट्टले जानकारी दिए ।
‘ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ,’ उनले भने, ‘यातायात सहजताका लागि उपत्यकाभित्र एक हजार आठ सय जनशक्ति परिचालन गरिएको छ ।’
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले दैनिक २५ हजारभन्दा बढी यात्रु बाहिरिएको जानकारी दिए ।
‘लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्याधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौं,’ उनले भने ।
दसैंका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताए ।
दसैंका लागि यातायात व्यवस्थापनलाई सहज बनाउन असोज २६ गतेदेखि देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा यसपटक धेरै यात्रुहरू बाहिरिने अनुमान छ ।