प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् ।
बुधबार मुस्ताङको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै उनले यो घोषणा गरेका हुन् । ‘एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग प्राप्त हुँदैछ, त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं,’ प्रधानमन्त्री प्रचण्डले भने । यो नेपाल सरकार मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ भन्ने प्रमाण रहेको उनले बताए ।
जलवायु परिवर्तन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चुनौतीको रुपमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा जलवायु परिवर्तनले पुगेको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर ढंगले लागेको उनले बताए ।
जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रको हिउँ अस्वाभाविक ढंगले पग्लिँदा जनजीवनमा प्रभाव र इकोसिस्टममा पुगेको असर निकै गम्भीर प्रकृतिको रहेको प्रधानमन्त्री प्रचण्डले बताए । न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा र इटलीको रोममा आयोजित खाद्यसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको सम्मेलनमा आफूले नेपालमा जलवायु परिवर्तनबाट परेको भयानक असरबारे विश्वको ध्यानाकर्षण गराएको जानकारी पनि उनले दिए ।
मुस्ताङ जिल्ला बहुआयमिक विशेषता बोकेको जिल्ला भएको चर्चा गर्दै प्रधामन्त्री प्रचण्डले भने, ‘स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्वपूर्ण छ, मुक्तिनाथ लगायत धार्मिक एवं सांस्कृतिक पर्यटनका केन्द्रहरू पनि यहाँ छन् । कोरला नाकाको विशेष रणनीतिक महत्व छ । तसर्थ यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा छ ।’
कार्यक्रममा उनले जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरे ।