रौतहटका एक पुरुषको भारतमा हत्या, २९ लाख भारु पनि लुटियो

रौतहट गौर नगरपालिका ९ का एक पुरुषको भारतमा हत्या भएको छ ।

भारत विहारको रामगढवा बजारमा मंगलबार गोली प्रहार गरी ४० वर्षीय दिलिप सिंहको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रामगढवा बजारस्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापालको काम गर्दै आएका सिंहलाई पैसा लुट्ने उद्देश्यले गोली हानी हत्या गरिएको अनुमान भारतीय प्रहरीले गरेको छ ।

भारतको मुजफ्फरपुरबाट संकलन गरेको २९ लाख भारतीय रुपैयाँ लिएर मिलमा फर्किरहेको बेला सिंहलाई मिल नजिकै अज्ञात समूहले गोली हानेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

हत्यापछि २९ लाख भारतीय रुपैयाँ लिएर लुटेरा समूह फरार भएका प्रहरीले जनाएको छ । घटनास्थलबाट भारतीय प्रहरीले विआर २९ जी ७८५१ नम्बरको बोलेरो जिप बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ ।

रौतहटका प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले घटनाको पुष्टि गरेका छन् । मृतकको शव मंगलबार साँझ भारतीय प्रहरीले परिवारलाई जिम्मा लगाइएको छ ।