दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । विगत वर्षमा काटिएको घटस्थापनाको दिनको सार्वजनिक बिदा यस वर्षदेखि सरकारले फेरि दिन थालेकाले पनि शक्तिपीठमा भक्तजनको भीड लागेको हो । नवरात्र नपरेका बेला पनि बिहीबार देवी मन्दिरमा भक्तजनको भीड लाग्छ । शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा आराधनाका लागि उत्तम समय मानिन्छ ।
यो बेला वर्षा सकिएर वातावरण पनि रमाइलो र घमाइलो देखिन्छ । बडादसैँका रुपमा समेत मनाइने यो नेपालीको राष्ट्रिय चाड हो । बडादसैँको पहिलो दिनदेखि नै घरघरमा घटस्थापना गरी नवदुर्गाको विशेष पूजा आराधना गरिन्छ । काठमाडौँ उपत्यकाका कालिकास्थान, भद्रकाली, शोभाभगवती, बिजेश्वरी, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी, इन्द्रायणी, चामुण्डादेवी, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराहीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
नवरात्रको पहिलो दिनदेखि नै शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका शक्तिपीठमा पनि भक्तजनको भीड लाग्छ । पाथीभरा, पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, इच्छाकामना देवी, मनकामना देवी, शैलेश्वरी, बागलुङ कालिकालगायत देवी मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रका अवसरमा शक्तिपीठमा पुगी पूजा आराधनासहित देवीको दर्शन गरेमा मनोकाङ्क्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।