दैलेखको नौमूले गाउँपालिका–४ मा श्रीमान् श्रीमतीबीच झगडा हुँदा श्रीमानको ज्यान गएको छ । कालिका गाउँका ३८ वर्षीय भीमबहादुरको ज्यान गएको हो । प्रहरीका अनुसार गएराति भीमबहादुर र श्रीमती ३५ वर्षीया सीता योगीबीच झगडा भएको थियो ।
श्रीमान् भीमबहादुरले पहिला पिटेपछि सीताले पनि श्रीमानलाई पन्यूँ र दाउराले प्रहार गरेकी उनीहरुका छोराछोरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।
टाउको फुटेपछि भएको रक्तस्रावको कारण उनको मृत्यु भएको डीएसपी लम्सालले बताए । आइतबार योगीको शव आफ्नै ओछ्यानमा फेला परेको थियो । प्रहरीका अनुसार सीताले पतिको हत्या स्वीकारेकी छन्।
योगी दम्पतीका दुई छोरा छन् । बाबुआमाले मदिरा खाएर दिनहुँ झगडा गर्ने भएकाले एक छोरा मावलमा बस्ने गरेका आफन्तले बताएका छन् । सीतालाई प्रहरीले पक्राउ गरेको छ । सचेतनाको कमी र जाँडरक्सीको सेवनले नौमूलेमा हिंसात्मक घटना हुने गरेका छन् ।