कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार दुबई जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्ने भएका छन् ।

कोप-२८ मङ्सिर १४ देखि २६ (३० नोभेम्बर-१२ डिसेम्बर) मा दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन् ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त अरब इमिरेट्सको ५२औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनाबिलिटी प्राइज अवार्ड समारोह’मा पनि सहभागी हुने कार्यक्रम छ । उनले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनुका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवर्धन गर्न ‘हिमालको आह्वानः जलवायु संकटबाट हामीलाई कसले बचाउँछ ?’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुखरसरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्त्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ । उनले अबुधाबीस्थित नेपालीदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल(यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।