नेकपा एमालेको मध्यपहाडी लोकमार्गको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा बैतडीको झुलाघाटाबाट सुरु भएको छ ।
आज बिहान महाकाली किनार झुलाघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झन्डा फहराएर अभियानको शुभारम्भ गरेका छन् ।
एमाले पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्रामा निस्किएको हो । उसले लोकमार्ग केन्द्रित अभियानलाई ‘समृद्धिका लागि समृद्धिको यात्रा’ नारा दिएको छ । एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राका क्रममा जनताको गुनासो सुन्ने एमालेले जनाएको छ ।
पदयात्रा कार्यक्रममा सहभागी हुन एमालेको केन्द्रीय पदाधिकारीसहित शीर्ष नेतृत्व बुधबार बेलुका नै बैतडी पुगेको थियो । बैतडी सदरमुकाम गोठालापानीमा बास बसेका ओली बिहानै पार्टीको महाकाली मेची पदयात्राको उद्घाटनका लागि पुगेका थिए ।
कार्यक्रममा एमालेका स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।
