नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दा हेर्दै’मा, शुक्रबार आदेश आउन सक्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएको छ ।

उच्च अदालत पाटनमा गत हप्तादेखि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा बिहीबार सबै पक्षको बहस सकिएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजित राई, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका थिए ।

उनीहरुले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्द उच्च अदालतमा पुनरावेदन गरेका थिए । उक्त पुनरावेदन निवेदनमाथि सुनुवाइ सकेको उच्च अदालतले शुक्रबार उनीहरु थुनामा नै रहने, धरौटीमा छुट्ने वा साधारण तारेखमा छुट्ने आदेश गर्न सक्नेछ ।

मंगलबार प्रतिवादी तर्फका वकिलको बहस सकिएको थियो भने बुधबार र बिहीबार खाजा समयअघि सरकारी वकिलको बहस भएको थियो । बिहीबार खाजा समयपछि प्रतिवादीका वकिलले जवाफी बहस गरेसँगै सुनुवाइ सकिएको पाटन उच्च अदालतका सहरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए ।

न्यायाधीशद्वयको इजलासमा उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सम्भवतः शुक्रबार आदेश आउने भट्टराईको भनाइ छ ।