लोकतान्त्रिक प्रणालीको अभ्यास गर्न सङ्कल्प यात्रा : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीको उचित अभ्यास नहुँदा देशमा अराजकता र अस्थिरता बढेकाले त्यसलाई रोक्न सङ्कल्प यात्रा गर्नुपरेको बताएका छन् ।

राष्ट्रिय एकता र सम्वृद्धिका लागि बैतडीको झुलाघाटबाट चिवा भञ्ज्याङसम्मको संकल्प यात्राको उद्घाटन गर्न बैतडी पुगेका अध्यक्ष ओलीले राजनीतिक अस्थिरता अराजकतातर्फ मोडिएकाले देशमा प्रतिगामी शक्ति टाउको उठाइ रहेको टिप्पणी गरे ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै बिहीबार सङ्कल्प यात्राको उद्घाटनपछि गोठालापानीमा आयोजित सभालाई सम्बोधन गर्दै देश र जनाता अब कसैको अधिनमा नरहने स्पष्ट पारे ।

अध्यक्ष ओलीले भने, “लोकतान्त्रिक प्रणालीको उचित अभ्यास नहुँदा देशमा अस्थिरता, अराजकता र आर्थिक सङ्कट निम्तिएका बेला केही तत्व उहिलेका राजाको सालिक बनाएर अहिले जय–जयकार गरिरहेका छन् । लोकतन्त्रको बिरोध गर्ने दुस्साहस गरिरहेका छन् । देश अब पछाडि फर्किन सक्दैन ।”

अध्यक्ष ओलीले जनता अब कसैका रैती बन्न नसक्ने स्पष्ट पारे । उनले जन्मजात कसलाई राजा मान्न नसकिने बताउनुभयो । “देशलाई अराजकतातर्फ जानबाट एमालेले रोक्छ” अध्यक्ष ओलीले भने, “अराजकता र अस्थिरतालाई रोक्दै देश अब सम्वृद्धिको बाटोमा अघि बढेको छ । त्यसको सुरुवात एमालेको बैतडीको झुलाघाटबाट पूर्वको पाँचथरको चिवा भञ्ज्याङ्गको सङ्कल्प यात्राले तय गरेको छ ।”

अध्यक्ष ओलीले संकल्प यात्रा संबादको यात्रा, सम्भावनाको यात्रा, अध्ययनको यात्रा र सुखी नेपाली सम्वृद्ध नेपाल बनाउने यात्रा भएको बताए ।