प्रधानमन्त्रीको भ्रमणका कारण संयुक्त अरब इमिरेट्सको दुबई जान छुटेका यात्रुहरूलाई वैकल्पिक उडानमार्फत् लगिने भएको छ ।
नेपाल वायुसेवा निगमले प्रेस विज्ञप्ति जारी गर्दै २७४ मध्ये छुटेका यात्रुहरूलाई आजै दुबई लगिने जनाएको हो । बुधबार राति ९ः३० बजे नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ दुई घण्टाअघि नै उडाउँदा टिकट काटेका ३१ यात्रुहरु छुटेका थिए ।
एयरलाइन्सले ३१ यात्रुहरु छुटाएको विषयमा आन्तरिक छानबिन गरी कारबाही गर्न निगमका वाणिज्य विभाग प्रमुखलाई निर्देशन समेत दिएको जनाएको छ । काठमाडौंबाट दुबईका लागि उडेको जहाज नियमित उडान समय रिसेड्युल भई ९ः३० बजे राखिएको र यात्रुहरुको उपलब्ध इमेल, फोन नम्बर र ट्राभल एजेन्सीमार्फत सेड्युल परिवर्तन भएको जानकारी गराइएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।
नेपाल एयरलाइन्सको राति साढे ११ बजे नियमित उडान हुन्छ । त्यसअनुसार नै बुधबारका लागि पनि त्यही समयको टिकट बुकिङ भइसकेको थियो ।
त्यस्तै, बिहीबार उपलब्ध वैकल्पिक उडानबाट सबै यात्रुहरुलाई गन्तव्यमा पुयाउने प्रबन्ध मिलाइएको एयरलाइन्सले विज्ञप्तिमा उल्लेख गरेको छ ।