रुसी सेनामा नेपाली संलग्नतासम्बन्धी अध्ययन गर्न समिति गठन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुसी सेनामा नेपाली नागरिकको संलग्नतासम्बन्धी अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा गठित समितिलाई प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको छ ।

रुसी सेनामा संलग्न भएका चार नेपाली मारिएको घटना सार्वजनिक भएपछि श्रममन्त्री शरदसिंह भण्डारीले ढकालको अध्यक्षतामा अध्ययन गर्न समिति बनाएको हो । जसमा वैदेशिक रोजगार शाखाका अधिकृत धनन्जय यादव र कानुन अधिकृत उषा गौतम रहेका छन् ।

सरकारले रुसी सेनामा नेपालीको संलग्नता सम्बन्धी आधिकारिक रुपमा बोलेको छैन । श्रम मन्त्रालयले समितिलाई रुसी सेनामा नेपाली पठाउने भूमिका निर्वाह गर्ने शैक्षिक परामर्शदाता र ट्राभल एजेन्सीको पहिचान गर्न समेत जिम्मेवारी दिइएको छ ।

त्यस्तै ढकालको समितिलाई अवैध रुपमा घरेलु कामदारको लैजाने गिरोहको अध्ययन गर्न समेत दिइएको छ ।