खाल्डाेमा पारेर गैंडा मारी खाग बेचेकाे आराेपमा पक्राउ परेका ८ जना सार्वजनिक

चितवन राष्ट्रिय निकुञ्जभित्र गैंडालाई खाल्डोमा पारेर मार्ने, खाग बिक्री गर्न खोज्ने तथा योजना बनाउने आरोपमा पक्राउ परेका ८ जनालाई बिहीबार सार्वजनिक गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाको उपस्थितिमा अभियुक्तहरूलाई सार्वजनिक गरिएको हो । महानिर्देशक ढुंगानाका अनुसार निकुञ्जभित्र खाल्डो खनेर त्यसलाई प्राकृतिक बनाई गैंडालाई पासोमा पारिएको अनुसन्धानले देखाएको छ ।

गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुली क्षेत्रमा खाल्डोमा परेर मरेका खागबिहीन दुईवटा गैंडा फेला परेका थिए । सोही गैंडाको खागसहित आठजना समातिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ लेबर्ट बस्ने ३३ वर्षका रमेश खाती रहेका छन् । उनी मुख्य योजनाकार भएको निकुञ्ज कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनी ९ गते चितवनको राप्ती-९ बाट समातिएका हुन् । त्यसैगरी पक्राउ परेकामध्ये थिङ बाजे भन्ने मकवाानपुुर मनहरी-६ नयाँ बस्तीका ५६ वर्षीय सिताराम थिङ र मकवानपुर राक्सीराङ-९ मुल घरभइ हेटौंडा-४ बस्ने ४४ वर्षीय समशेर थिङलाई पनि निकुञ्जले गैंडा मार्ने योजनाकार भएको बताएको छ ।

उनीहरू पनि नौ गते नै राप्ती-६ बाट समातिएका हुन् । गैंडाको खाग पनि राप्ती-६ मा नै फेला परेको प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए ।

निकुञ्जले राप्ती-११ का ४२ वर्षीय पासाङ भन्ने आइतसिंह मोक्तान, रोल्पा सुनछहारी गाउँपालिका-६ फागम घर भइ मकवानपुर हेटौंडा-५ बस्ने २८ वर्षका अर्जुन रोका, घले भन्ने गोरखा बारपाक घर भई भरतपुर-११ लामा टोल बस्ने ७७ वर्षका धनबहादुर गुरूङ, चितवन कोराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र स्याङ्बो भन्ने मकवानपुर मनहरी घर भइ चितवन बाँदुरझुला बस्ने वर्ष ५६ को इन्द्रबहादुर तमाङ रहेका छन् । उनबहादुर र इन्द्र ११ गते पक्राउ परेका हुन् भने अरू नौ गते समातिएका हुन् ।

अनुसन्धानमा संलग्न अधिकारीकाअनुसार ‘केमो फ्लेज’ भनिने पासो थापेपछि सिकारीहरू करिब १ किलोमिटर पर लुकेर बसेका थिए । १ किलोमिटर पर सानो मचान, चाउचाउका खोल, पानीका बोतल, प्लास्टिक भेटिएका छन् । आगो बालेको पनि देखिन्छ। सिकारीहरूले त्यहाँ बसेर गैंडा पासोमा परेरनपरेको हेर्ने गरेको अनुसन्धानबाट देखिएको छ । जब गैंडा खाल्डोमा फस्यो उनीहरूले त्यसलाई मारेर खुर काटेका छन् ।