सुत्केरी र शिशुको मृत्यु प्रकरण : लमजुङ अस्पताल २ दिनदेखि तनावग्रस्त, ८ राउन्ड अश्रुग्यास प्रहार

सुत्केरी र शिशुको मृत्यु भएको घटनापछि लमजुङ अस्पतालमा तनाव उत्पन्न भएको छ । पीडितका आफन्तले अस्पतालमा तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास र लाठिचार्ज गरेको छ । गत सोमबार मर्स्याङ्दी गाउँपालिका–९, पामचोक दलितबस्तीकी २६ वर्षीया शोभा विक भर्ना हुन आएकोमा सोही दिन उनले मृत शिशुलाई जन्म दिएकी थिइन् । थप उपचारका लागि चितवन रेफर गरेपनि उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको थियो । यससँगै आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गर्नुका साथै अस्पतालमा नाराबाजी गरेका थिए ।

तनाब बढ्दै गएपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । मृतको परिवारका पक्षबाट भएको प्रदर्शनका क्रममा टायर बाल्ने र प्रहरीतिर फाल्ने क्रम सुरु भएपछि अश्रुग्यास प्रहार गरेको प्रहरीले बताएको छ । अस्पतालतर्फ ढुंगामुढा प्रहार भएपछि चिकित्सक र उपचाररत बिरामीसमेत त्रसित बनेका छन् । घटनाबारे छानबिन गर्न वार्ता समिति गठन भएपनि बिहीबार आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका थिए ।

गर्भवती शोभा विकलाई सुत्केरी ब्यथाले च्यापेपछि सोमबार अस्पतालमा भर्ना गरिएको थियो । लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार अस्पतालले विकको शल्यक्रिया गरेको थियो । शल्यक्रियामार्फत निकालिएको शिशु मृत रहेको र सुत्केरी आमाको निरन्तर रक्तश्राब भएपछि मंगलबार बिहान चितवन मेडिकल कलेजमा रिफर गरिएको थियो ।

सुत्केरी र शिशुकै मृत्यु भएपछि उनको परिवार र आफन्तले अस्पताल तथा चिकित्सकको लापरबाहीले घटना भएको भन्दै बुधबार बिहानदेखि नै अस्पतालमा प्रदर्शन गरेका हुन् । अस्पतालले राम्रोसँग गर्भवतीको शल्यक्रिया नगरेको, बेलैमा रिफर नगरेको भन्दै आफन्त तथा परिवारले अस्पताल घेरेका थिए । अस्पताल, प्रहरी प्रशासन र आफन्तबीच बुधबारदेखि नै वार्ताको प्रयास भए पनि सहमति हुन सकेको थिएन ।