दोलखामा बरामद ११ किलो सुन तस्करी प्रकरणका ९ अभियुक्तलाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले शुक्रबार ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । तीन जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।
प्रहरीले दोलखाको बिगु गाउँपालिका-१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र लामाबगरबाट ४ किलो गरी ११ किलो सुन बरामद गरेको थियो । सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो ।
तस्करहरुले चिनिया नागरिकसँग मिलेर चीनबाट दोलखाको बाटो हुँदै सुन तस्करी गरेको खुलेको थियो। सुन तस्करीमा संलग्न महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन जिल्ला अदालत दोलखाले आदेश दिएको छ ।
महिमा विरुद्ध ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ १५ पैसा बिगो तथा दिपेन्द्र शाक्य र तिलक विकविरुद्ध २० करोड ७४ लाख ४६ हजार ९६४ रुपैयाँ १० पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको थियो ।
यही समूहका दावा भन्ने आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय पठाइदिन अदालतले आदेश दिएको छ ।