आज दशैंको मुख्य दिन हो । मान्यजनहरूको हातबाट टीका लगाउने र आशिर्वाद लिने दिन हो । आज टीका लगाउन र आशिर्वाद लिन प्रायः सबै व्यस्त छन् । तर। लेकाली समदायहरूको न त दसै आउँछ, न त तिहार नै । तिनै लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा । उनी फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलाका स्थानीयवासी हुन् । उनी चौँरी याकहरूसँग रमाउन थालेको ६५ वर्ष नै भयो । किनकि उनी चौँरी याक गोठमै जन्मेर चौँरी याकहरूको पछिपछि लाग्दै अहिले ६५ वर्ष पुगेका हुन् ।
समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाईमा अवस्थित मौवटारमा याक गोठ उनले सारेका हुन् । छोरा छोरीलाई अंशको रूपमा सबैलाई याक बाँडिदिएर उनीसँग ३० वटा याक रहेका छन् । १० वटा दुहुनो याक उनीसँग छन् । बिहान उठ्नबित्तिकै एक मक दुध चिया लिएपछि झिसमिसमै दुहुनो याकहरू बटुलेर दुध दुहुँदै घाम शिरमाथि पुग्छ ।
चौँरी याकहरूलाई चरन क्षेत्रमा पु-याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहानको दुधलाई मोही, घिउ र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारि पुगेको हुन्छ । साँझ परेपछि चारतिर छरिएर रहेका चौँरी याकहरूलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म पारी डाँडामा जुन उदाएको हुन्छ ।
लेकाली बस्तीका समुदायहरूको दैनिकी हो यो । लेकाली समुदायहरूको मुख्य पुर्खौली पेसा चौँरी याक पालन हो । वर्ष दिनमा आउने चाडबाड दसैं तिहार वस्तुभाउका कारण चासो दिन नसकिएको फक्ताङलुङ गाउँपालिका—७ का हेम्वे शेर्पाले बताए ।
चौँरी याकहरूसँग हिमाल डुल्दाडुल्दै कतिखेर दशैं आउँछ, कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको स्थानीय तेन्जिङ शेर्पाले बताए । समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइमा अवस्थित मौवटारमा चारवटा घुम्ती गोठहरू छन् । सिंजेमा पोखोरी क्षेत्रमा तीनवटा घुम्ती गोठहरू रहेका छन् । याङमा क्षेत्रमा नौवटा याकहरूको घुम्ती गोठहरू रहेका छन् । मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ वटा चौँरी याकहरूको घुम्ती गोठ रहेका मिक्वाखोला गाउँपालिका—५ का वडा अध्यक्ष डण्डु लामाले बताए ।
ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँका धेरै लेकाली बस्तीहरू छन् । हिमाली बस्तीमा बासोबास गर्ने समुदायहरूले पशुपालनमा निर्भर हुने भएकाले दसैँको खासै महत्व नहुने फक्ताङलुङ—७ का स्थानीय चुङदाक शेर्पाले बताए ।
सहर बजारमा दसैंको उत्साह छाएको छ । तर, हिमाली बस्तीहरूमा दसैं तिहारको न त उत्साह न त उमङ्ग दैनिकी चौँरी याकसँगै हिमालका टाकुराडाकुराहरू चहार्दै अस्ताउँछ घाम ।