काठमाडौंमा आज यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।
“यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो । पौने ९ बजे यो भन्दा पनि तापक्रम घट्न सक्छ,” मौसमविद् सञ्जिव अधिकारीले भने । काठमाडौंको तापक्रम दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । हिजो बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस थियो ।
काठमाडौंको तापक्रम अझै घट्ने सम्भावना रहेको उनले बताए । ‘तापक्रम अझै घट्न सक्ने अनुमान छ । हाम्रो अर्को आधिकारिक रेकर्ड पौने ९ बजे सार्वजनिक हुन्छ,’ अधिकारीले भने ।
देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सुझाव दिएको छ ।
मौसमविद अधिकारीका अनुसार आगामी तीन दिनसम्म मौसम सामान्य अवस्थामै रहने सम्भावना छ ।














