कोरोनाभाइरसविरुद्धको आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई एकदमै दुर्लभ असरका रूपमा सुचीकृत गरिनुपर्ने युरोपेली सङ्घमा औषधीहरूको नियमन गर्ने निकायले जनाएको छ ।
युरोपमा देखापरेका त्यस्ता ८६ वटा अवस्थाबारे अध्ययन गरेपछि युरोपियन मेडीसीन्स एजेन्सी (ईएमए)ले खोप लगाएपछिका जोखिमभन्दा फाइदा बढी रहेको निष्कर्ष निकालेको छ । उक्त प्रतिवेदनले करिब २ करोड ५० लाख युरोपेलीहरूलाई दिइएको खोपबारे तथ्याङ्क केलाएको थियो ।
ईएमएले जोखिमका निश्चित कारक भने सूचीकृत गरेको छैन तर रगत जमेको अधिकांश अवस्था ६० वर्ष मुनिका महिलाहरूमा देखिएको बताइएको छ । यूकेको खोपसम्बन्धी निर्देशन समितिले रगत जम्ने समस्याका कारण ३० वर्ष भन्दा मुनिका मानिसहरूलाई आस्ट्राजेनेकाको सट्टा अन्य खोप दिइनुपर्ने बताएको छ । यूकेमा मार्च महिनाको अन्त्यसम्ममा खोप लगाएका ७९ जनामा रगत जम्ने दुर्लभ समस्या देखिएको थियो जसमध्ये १९ जनाको मृत्यु भयो ।
विश्व स्वास्थ्य सङ्गठनले बुधवार रगत जम्ने समस्याको ‘सम्भावना रहे पनि’ त्यसको ‘पुष्टि नभएको’ र विश्वव्यापी रूपमा २० करोड मानिसहरूले आस्ट्राजेनेका खोप लगाएकामा त्यस्तो समस्या भने ‘निकै दुर्लभ’ रहेको जनाएको छ ।
हालसम्म विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट १३ करोड २० लाख मानिसहरू सङ्क्रमित भएका छन् । जोन्स हप्किनस् विश्वविद्यालयका अनुसार कोभिड-१९ बाट २८ लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।