चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ ।
निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणअन्तर्गतको ध्रुव पोष्टमा कार्यरत अमल्दार गुप्तबहादुर थापामाथि शनिबार साँझ ध्रुवे हात्तीले आक्रमण गरेको थियो । साइकलमा रात्री गस्तीमा निस्किएका सैनिकहरूमाथि पौने ७ बजेतिर ध्रुवे हात्तीले आक्रमण गरेको थियो ।
घाइते सैनिकको उपचारका क्रममा राति सवा ११ बजे भरतपुर मेडिकल कलेमा मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
‘ध्रुवेले अघिल्लो दिन गाउँमा निस्किएर पोल ढाल्ने, धान तान्ने गरेको थियो’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने, ‘साँझपख निकुञ्जको नाकामा कुर्न जाँदा हात्तीसँग झम्काभेट भएछ । हात्तीले ढाडमा कुल्चेछ ।’ हात्तीले कुल्चिएपछि उनको ढाड भाँचिएको थियो ।
ध्रुवेले पाँच वर्षअघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्यान लिएको थियो । ध्रुवे आक्रामक बन्न थालेपछि निकुञ्ज नजिक बस्ती भएका र निकुञ्जको बाटो भएर भरतपुर माडी आवतजावत गर्ने नागरिकमा त्रास बढेको छ ।