राष्ट्रिय सभा बैठक ‘विशेष कारणवश’ अनिश्चित समयका लागि स्थगित

राष्ट्रियसभाको यही माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगन भएको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।

‘माघ ३ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि उक्त बैठक स्थगित भएको’ सूचना महासचिव गौतमले जारी गरेका हुन् ।

यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने सूचना जारी भएको थियो । प्रतिनिधिसभा बैठक पनि पटकपटक सूचना जारी गरेर स्थगित हुँदै आएको छ । संसद्‌मा एमालेको अवरोध र कोरोना संक्रमणको कारण देखाउँदै दुवै सदनका बैठक स्थगित हुँदै आएका छन् ।