नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले प्रचण्ड र विप्लवबाट अब क्रान्तिको सुरुवात हुन नसक्ने बताएका छन् ।
सोमबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रम वैद्यले पार्टी एकताका लागि विभिन्न चरणमा छलफल भएको भन्दै अब प्रचण्ड र विप्लवबाट क्रान्तिको सुरुवात हुन नसक्ने देखिएको बताएका हुन् ।
दुवै नेताले शान्तिपूर्ण माध्यमबाट समाजवाद आउने कुरा गरेकाले क्रान्तिकारी धारमा विचलन आउने खतरा आफूले देखेको उनले बताए । मसालका महामन्त्री मोहन विक्रम सिंह र विप्लवमा अरूका कुरा सुन्ने प्रवृत्ति नरहेको र उनीहरूको पार्टीमा व्यक्तिवाद हाबी भएको महासचिव वैद्यले बताए ।
वैद्यले अब पार्टीलाई सशक्त रूपमा क्रान्तिकारी धारका रूपमा अघि बढाउने समय आएको धारणा राखेका छन् ।
कार्यक्रममा गोपाल किराँती नेतृत्वको माओवादीमा रहेका नेताहरू नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए ।