कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले यही चैत २० गते (मंगलबार) विश्ववासको मत लिने भएका छन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले मुख्यमन्त्री शर्माले २० गते मंगलबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरी पत्र पठाएको जानकारी दिए ।

उनले भने, ‘विश्वासको मत लिन भनेर मुख्यमन्त्रीज्यूले आज पत्र दर्ता गराउनुभएको छ । चैत २० गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने गरि तयारी भएको छ ।’

यसअघि राजनीतिक समीकरण फेरबदल हुँदा सरकारमा सहभागी नेपाली कांग्रेसले फागुन २२ गते कर्णालीमा माओवादीको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले शर्माले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा र नेकपा एकीकृत समाजवादीका सांसद एक–एक जना रहेका छन् ।

विश्वासको मतका लागि आज बिहान मुख्यमन्त्री शर्मा र एमाले संसदीय दलका नेता यामलाल कँडेलबीच छलफल समेत भएको थियो ।