नोबेल मेडिकल कलेजका विद्यार्थी दबाब दिन काठमाडौंमा

अतिरिक्त शुल्क असुल्दै आएको विराटनगरस्थित नोबेल मेडिकल कलेजका एमबीबीएस अध्ययनरत विद्यार्थी सरकारलाई दबाब दिन काठमाडौं आएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक मनिश भट्टराईको नेतृत्व १६ जना विद्यार्थीको टोली काठमाडौं आएको हो ।

नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता नगरेको भन्दै पीडित विद्यार्थी काठमाडौं आएका हुन् । उनीहरुले चिकित्सा शिक्षा आयोगमा धर्ना दिने जनाएका छन् ।

समिति संयोजक भट्टराईले नोबेलले विद्यार्थीलाई ठगी गरेको भन्दै गैरकानुनी शुल्क फिर्ता नहुँदासम्म आन्दोलन जारी रहने बताए । यस्तै, काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजले पनि विद्यार्थीबाट ६ लाख रुपैयाँ बढी अतिरिक्त शुल्क लिएको छ ।

सरकारले अतिरिक्त शुल्क फिर्ता गर्न पटकपटक ताकेता गरेपनि नोबेल र काठमाडौं मेडिकल कलेजले अटेर गर्दै आएको छ ।

यसअघि शुल्क विवाद सल्टाउन शिक्षामन्त्री, प्रमुख जिल्ला अधिकारी, पीडित विद्यार्थी, कलेज सञ्चालक, चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालयका पदाधिकारीबीच वार्ता भएको थियो । कलेज प्रशासनले अतिरिक्त शुल्क तिर्नैपर्ने बताएपछि वार्ता असफल भएको थियो ।