प्रत्येक उडानपछि अब जहाज निसंक्रमित गर्नुपर्ने

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आन्तरिक उडान गर्ने वायु सेवा कम्पनीहरुले प्रत्येक उडानपछि जहाज र व्यागेज निसंक्रमित गर्नुपर्ने भएको छ ।

वायुसेवा सञ्चालक संघ, नेपालले बुधबार वायु सेवा कम्पनीहरुका लागि चार बुँदे सूचना जारी गरेको छ । सूचना अनुसार अब हवाई जहाजभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र व्यागेज निसंक्रमित गर्नुपर्ने, चेकइन, बोर्डिङ र व्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र हवाई यात्रुरुले विमानस्थल प्रवेश गर्दा कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको हो । कार्ड बोक्न नसक्दा मोबाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको छ ।

यस्तै यात्रुको एन्टिजेन परीक्षण अनिवार्य नगरिने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भए पनि यो छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै गृह मन्त्रालयमा बुधबार बसेको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्ने मौखिक सहमति भएको हो ।

नयाँ निर्णय अनुसार यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्ने छ । यस अवस्थामा फेस शिल्ड अनिवार्य गरिने छैन । यात्रा अवधिभर माक्स खोल्न पाइने छैन ।

यात्रुको तापक्रम नाप्ने व्यवस्था भने वायुसेवा कम्पनीले मिलाउनु पर्नेछ । यात्रु चेक इन गर्ने समयमा उनीहरुलाई संक्रमक रोग सम्बन्धि लक्षण भए नभएकोबारे सोधपुछ गरिने छ ।