धनुषाधाम नगरपालिका–६ मालटोलमा हत्या गरिएको अवस्थामा भेटिएकी युवतीको सनाखत भएको छ । रगतले लतपतिएको अवस्थामा फेला परेको शव धनुषाको मिथिला नगरपालिका–१ ढल्केवरकी इन्द्रकला कुमारी महतोको रहेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ पूर्वपश्चिम राजमार्गदेखि करिब दुई किमी दक्षिणमा रहेको स्थानीय पदम थापाको आँपको बगैँचामा युवतीको शव फेला परेको थियो । शवको प्रकृति हेर्दा युवतीको करणी गरी हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । ‘शवको पोस्टमार्टमपछि थप कुराहरु खुल्छ,’अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।
युवतीको हत्यामा संलग्न हुनसक्ने आशंकामा एकजनालाई नियन्त्रणमा लिएर घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।
युवतीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।