९ घण्टापछि खुल्यो पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक

सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड ९ घण्टापछि खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ अन्तर्गत तोपे खोलामा बिहान साढे २ बजेतिर खसेको सुख्खा पहिरो हटाएपछि सवा ११ बजेपछि सवारी साधन चल्न थालेका छन् ।

बाटो बन्द हुँदा सयौं सवारी साधन रोकिएका थिए । सडकमा खसेको पहिरो हटाएपछि यातायातका साधन दुई तर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारी बताए ।

नारायणगढ–मुग्लिन सडक संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्ग हो । यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउने काम सम्प्न्न भएको छ । सडक विस्तारका लागि ठाउँ ठाउँमा पहाड खन्नु परेको थियो ।