कास्कीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

कास्कीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।

पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका-४ सल्यान जाँदै गरेको ग१ज ५५४७ नम्बरको जिप गन्तव्य पुग्न लाग्दा भदौरेमा दिउँसो साढे ३ बजे दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा दुवै जना पुरुष रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विकास खनालले जानकारी दिए । उनीहरुको परिचय खुलिसकेको छैन । उनका अनुसार घाइतेमध्ये ५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बाँकी ५ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

अन्नपूर्ण गाउँपालिका ४ सल्लाघारीको थामडाँडामा तिव्र गतिमा गुडेको जिप अनियन्त्रित भएर झण्डै चार सय मिटर तल खसेको थियो ।

स्थानीय र प्रहरीको पहलमा घाइतेको उद्धार गरी उपचारका लागि अस्पतालमा ल्याइएको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।