भक्तपुरमा निसासिएर तीन महिने शिशुको ज्यान गयो, बुबाआमा बेहोस

भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाका शिशुको ज्यान गएको छ ।

शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको छ । रामेछाप मन्थली नगरपालिका घर भई सो ठाउँमा डेरा गरि बस्ने ३० वर्षीय अभिषेक रम्तेल र उनकी श्रीमती २८ वर्षीया पसुना तामाङका तीन महिनाका छोराको मृत्यु भएको हो । शिशुको उपचारका क्रममा आइतबार बिहान मध्यपुर अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी प्रभाग भक्तपुरले जनाएको छ ।

गएराति आगो तापेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि प्रहरीले बिहान झ्याल फोडेर हेर्दा सबै बेहोस अवस्थामा थिए । अभिषेक र पसुनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था एकदम गम्भीर रहेको प्रहरीले जनाएको छ ।