शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सव इन्जिनियर पवनकुमार यादवलाई विप्लव कार्यकर्ताले कालोमोसो र जुत्ताको मालासहित हातपात गरेका छन् ।
सव इन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा आर्थिक भ्रष्टचार गरेको आरोप लगाउँदै सोमबार दिउँसो कार्यालयमै पुगेका विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का कार्यकर्ताले यादवलाई हातपात गर्दै कालो मोसो र जुत्ताको माला लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दिउँसो अन्दाजी १ बजे मुखमा मास्क लगाएर नचिनिने भएर कार्यालयमा आएका १० जना युवाहरुले नाराबाजीसहित आफूलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवले बताए । हातपातपछि विद्यार्थी युनियनले कार्यालयको मुख्यद्वारमा प्रेस विज्ञप्तीसमेत टाँस गरेको छ ।
युनियनका संयोजक एकराज राईद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तीमा शिक्षा समन्वय इकाइका सव इन्जिनियरहरु पवनकुमार यादव र नविनकुमार सिंहले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवनहरु निर्माण गर्दा आर्थिक भ्रष्टचार गरेको आरोप लगाइएको छ ।