पोलमा चढेर बिजुली बनाउने क्रममा खसेर एक कर्मचारीको मृत्यु

ताप्लेजुङमा विद्युतको पोलबाट खसेर एक कर्मचारीको मृत्यु भएको छ ।

सोमबार पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रुपमा कार्यरत फुङ्लिङ नगरपालिका –४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू रहेका छन् ।

लिम्बू सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा पोलबाट खसेर पक्की सडकमा बजारिएका थिए । गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले बताए ।