काठमाडौं । आइतवार घटेको शेयर बजार आज सोमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६९ अङ्कले बढेर दुई हजार आठ सय ५१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादन र अन्य समूहको शेयर बढेको छ । बैंकिङ, होटल र माइक्रोफाइनान्स समूहको शेयर भने ओरालो लागेको छ ।
आज ९५ लाख १२ हजार कित्ता शेयर पाँच अर्ब दुई करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ४९ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज निफ्राको शेयर सबैभन्दा धेरै झन्डै साढे आठ प्रतिशतले र छ्याङ्दी हाइड्रोको शेयर झन्डै ६ प्रतिशतले बढेको छ ।
आज बुद्धभूमि नेपाल हाइड्रोको शेयर भने साढे चार प्रतिशतले घटेको छ । विकास बैंक २६, फाइनान्स ८, जलविद्युत् ६, लगानी २, जीवन बीमा १२४, उत्पादन ३४, निर्जीवन बीमा ७६, अन्य ५४ र व्यापार उपसमूह ७ अंकले बढे ।कुल १०५ कम्पनीको मूल्य बढ्यो भने ७० को घट्यो । १५ कम्पनीको मूल्य स्थिर रह्यो । सोमबार निफ्राको सबैभन्दा धेरै मूल्य बढ्यो । सो कम्पनीको मूल्य ८.४ प्रतिशतले बढेर प्रतिकित्ता ४१२ रुपैयाँ पुगेको छ ।















