संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लुम्बिनी बिकास कोषको कोषाध्यक्षमा सिद्धिचरण भट्टराईलाई नियुक्त गरेको छ । नेकपा एकीकृत समाजवादीका नेता भट्टराईलाई विगतमा कोषको पदाधिकारी नियुक्त गर्न खोज्दा एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेलले नै रोक्दै आएका थिए ।
सुकुम्बासीको रुपमा घडेरी लिएका पौडेलको अहिलेको अरबौंको सम्पत्तिको खोजीनीति गर्न मिडियालाई सहयोग गरेको आशंकामा उनलाई पार्टीको जिम्मेवारीदेखि नियुक्तिसम्म पनि रोकिएको थियो । नेकपा समाजवादीले भट्टराईलाई ढिलै भए पनि लुम्बिनी विकास कोषको कोषाध्यक्षमा नियुक्ति गरेपछि लुम्बिनीमा उक्त पार्टीका नेता कार्यकर्ता खुसी भएका छन् ।
नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा एमाले निर्माणका लागि अथक परिश्रम गरेका त्यागी कार्यकर्ताहरुको मूल्यांकन गरेको अर्थमा भट्टराईको नियुक्तिलाई लिइएको छ । यद्यपि एमाले उपाध्यक्ष बिष्णु पौडेल भने अहिले पनि गृहमन्त्री बालकृष्ण खाँणलाई हारगुहार गरी भट्टराईको नियुक्ति रोकाउन लागिपरेका छन् ।
नेकपा समाजवादीले यसअघि राष्ट्रियसभाको सांसदमा पनि लामो समय काम गरेका त्यागी नेता र नेतृहरुलाई पठाएको छ । समाजवादीले जयन्ती राई, गोमा तिमल्सिना, राज्यलक्ष्मी गैरे, उदयबहादुर बोहरा र गरिमा शाहलाई राष्ट्रियसभाको सांसद बनाएको छ ।















