प्रचण्ड भन्छन् – प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न खोजिरहेका छन्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न खोजिरहेको बताएका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवासहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायत दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले माओवादीलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेको बताएका हुन् ।

‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहका छन्,’ उनले भने, ‘हामी यति ठूलो परिवर्तनका वाहकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’

सो अवसरमा अध्यक्ष प्रचण्डले ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए ।

परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरू एकजुट हुन आवश्यक भएको उनको भनाइ थियो ।

उनले अहिले विस्तारै विभाजनका घाउहरू बिर्सिंदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादी एक ठाउँमा केन्द्रित हुँदै गएको बताए । उनले भने, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं। हामीलाई कसैले परास्त गर्न सक्दैन ।’