कहिले माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) भन्दै र कहिले मेडिकल तथा साइन्स कलेज खोल्ने बहानामा करोडौं उठाएर फरार रहेका पेसेवार ठगलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न बहाना बनाई ठगी गरेको आरोपमा प्युठान जिल्ला तोरवाङ गाउँपालिका-६ घर भई हाल झिमरुक गाउँपालिका बस्ने ईश्वरीप्रसाद पोख्रेललाई सोमबार राति पक्राउ गरेको हो ।
बागमती प्रदेश ०१-०२६ च ४००१ नम्बरको कार चेक जाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दान बहादुर कार्की बताए ।
उनी सोमबार राति ८ बजेको प्रहरी चेकिङमा समातिएका थिए । पक्राउ परेका पोख्रेल पेसेवार ठग भएको प्रहरीले दाबी गरेको छ । उनले २०६९ सालमा माओवादी नेता जनार्दन शर्मा (प्रभाकर) बनेर साइन रेसुङ्गा बैङ्क केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई समेत ठगेका थिए । प्रहरीका अनुसार उनले पन्थलाई ७ लाख रुपैयाँ ठगी गरेका थिए ।
प्रहरीका अनुसार २०६४/०६५ सालमा पौडेलले दाङ राप्ती गाउँ पालिका २ मा साइन्स कलेज स्थापना गर्ने र जागिर लगाइदिने नाममा १ करोड बढी रकम उठाएर फरार भएका थिए । यसै गरी कैलालीको धनगढीमा समेत मेडिकल कलेज खोल्ने नाममा स्थानीय व्यवसायी र सर्वसाधारणसँग लाखौं रकम उठाएर फरार भएको जनाइएको छ ।
उनी भेडीगोठ बाख्रा फार्म प्रालि मकवानपुर, कामधेनु गाई फार्म चितवन, प्रिसा पशुपन्छी तथा कृषि फार्म प्युठान, प्रिन्स कन्स्ट्रक्सन प्रालि काठमाडौं र गौमुखी फिड इन्डस्ट्रिज प्रालि कपिलवस्तुका प्रोप्राइटर भन्दै आएका थिए ।
तर, अहिले पक्राउ पर्दा ती कुनै पनि फार्म तथा कम्पनी स्थापना र सञ्चालन नै नभएको पाइएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी बताउँछन् ।
विभिन्न फार्म र कम्पनी आफ्नो बताउँदै पोखरेलले २५ वर्षदेखि ठग्दै हिँडेको पाइएको भण्डारीले बताए । यो बीचमा उनले करोडौं ठगी गरेको भेटिएको छ ।
















