एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपासहित आधा दर्जन दलले संसद् भवन घेराउ गर्दै

अमेरिकी सहयोग परियोजना एमसिसी खारेज गर्न माग गर्दै आज नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका आधा दर्जन कम्युनिष्ट पार्टीले संयुक्त रूपमा संसद् भवन घेराउ गर्ने भएका छन् ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरूले आज दिउँसो दुई बजे नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने भएका हुन् ।

जसमा सत्ता गठबन्धनबाट अलग्गिँदै राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ । मंगलबार उनीहरूले देशभर कोणसभा गरेका थिए ।

बुधबार दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई विरोध र्यालीसहित संसद् भवन पु्ग्ने कार्यक्रम छ ।

विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको समाजवादीले संयुक्त रुपमा विरोधका कार्यक्रम तय गरेका हुन् । यसमा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि संलग्न छन् ।