जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राउतले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताए ।
‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् । अनि मात्र स्थानीय तहको निर्वाचनको परिकल्पना गरौँ,’ अध्यक्ष राउतले भने, ‘नभए अरू ठाउँमा त भन्न सकिन्न । तर तराई–मधेसमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौँ ।’
जनमत पार्टी निर्वाचन विरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले भने, ‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनु पर्यो । किनकि एकै दिनमा यो समस्या समाधान हुने होइन ।’
उनले यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने आफूलाई आशा नरहेको बताए । ‘अहिलेसम्म त्यही ३÷४ जना नेताको अनुहार आउने हो । जुनसुकै सरकार आए पनि एजेन्डा यही रहने हो । त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाएको भए हुन्थ्यो,’ उनले भने । उनले किसान आन्दोलनको ज्ञापन पत्र नलिएर विदेशीको स्वार्थको पछाडि नेताहरू दौडिइरहेको आरोप लगाए ।
उनले अर्को चरणको किसान आन्दोलन फागुन १ गतेबाट सुरु हुने घोषणा गरे । मौसमको खराबीका कारण राजमार्ग केन्द्रित आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको बताउँदै अध्यक्ष राउतले फागुन १ गतेबाट सशक्त कार्यक्रम आउने बताए ।
उनले कृषि मन्त्री मधेसकै भएपनि किसानको माग सुन्नसमेत नचाहेको जिकिर । डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानहरूको मागमा सरकारले चासो नदिएको प्रति अध्यक्ष राउतले दुःख व्यक्त गरे ।
उनले किसान आन्दोलनमा उठेका मागहरू दीर्घकालीन समाधानका लागि किसानसँग सम्बन्धित विधेयक ल्याएर ठोस कानुन नै बनाउनु पर्ने भएकाले आफूहरूको माग सङ्घीय सरकारसँग रहेको बताए ।














