काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको टिप्पणी गरेका छन् । बुधवार राजधानीमा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरू एमसीसीको विपक्षमा नआउने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताउनुभयो । उहाँले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको आरोप पनि लगाउनुभयो । अध्यक्ष केसीले विदेशी शक्तिहरूले पार्टीका प्रमुख व्यक्तिहरूलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताउनुभयो । उहाँले गठबन्धन नेपाली कांग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भने पनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।















