६ दिनदेखि बेपत्ता शिशिरको शव बागमती नदीमा फेला

६ दिनदेखि हराइरहेका काठमाडौं गोकर्णेश्वरका एक युवकको शव बागमती नदीमा भेटिएको छ । गोकर्णेश्वर नगरपालिकाका २७ वर्षका शिशिर भण्डारीको शव बुधबार नगरपालिका-१ ओख्रेनीस्थित बागमती नदीमा भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए ।

भण्डारी २० माघदेखि हराएको भनी महानगरीय प्रहरी वृत्त वौद्धमा उजुरी परेको थियो । शव भेटिएको सूचना पाएपछि प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

शव फेला परेको घटनास्थलमा वृत्तबाट अधिकृतसहितको टोली खटिएको छ । महानगरीय अपराध महाशाखाको टोली पनि खटिएर अनुसन्धान अघि बढाएको छ ।