राप्रपाको केन्द्रीय पदाधिकारी बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय पदाधिकारी बैठक बोलाएका छन् ।

बिहीबार बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार पछिल्लो राजनीतिक परिस्थिति, आसन्न स्थानीय तहको निर्वाचन र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक लागेको हो ।

पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको र अरुले पनि क्रमश पार्टी परित्याग गर्ने संकेत पाएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले बैठक बोलाएका हुन् ।

पूर्वउपप्रधानमन्त्री कमल थापाले ३१ वर्ष उतारचढाव भोगेको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका हुन्। यससँगै नयाँ दल गठनतर्फ लागेको निकटस्थ नेता राजाराम बर्तौलाले बताए। ‘नयाँ पार्टी नै हुन्छ, कस्तो के भन्ने बारेमा सल्लाह हुँदै छ’, उनले भने। मंसिरमा भएको महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै उनी असन्तुष्ट रहँदै आएका थिए। थापाले पार्टीमा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेपका कारण आफू पराजित भएको दोहोर्‍याए। उनले अब सक्रिय राजतन्त्रको एजेन्डा बोकेर हिँड्न नसकिने बताए।