एमसीसीबाट पछि हट्दा दुई देशबीचको सम्बन्धमा असर पर्न सक्छ : अमेरिकी दूतावास

कामाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबाट पछि हट्दा दुई मुलुकबीचको सम्बन्धमा असर पर्न सक्ने अमेरिकाले चेतावनी दिएको छ । नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी जे बेरीले मंगलबार बिहान सार्वजनिक गरेको वक्तव्यमा नेपाली नेताहरुलाई धम्की नदिइएको समेत उल्लेख छ ।

‘अमेरिका र नेपालबिचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ । यो वर्ष नेपाल(अमेरिकाबिचको सम्बन्धको ७५औँ वर्ष हो । यी ७५ वर्षहरूमा नेपालले धेरै ऐतिहासिक र अविश्वसनीय परिवर्तनहरू देखेको छ । यी परिवर्तनहरूमा अमेरिका सधैँ नेपालसँगै उभिएको छ र नेपाललाई विकास सहयोग, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता प्रदान गर्नुका साथै स्वास्थ्य, शिक्षा र अन्य कार्यक्रमहरूमा पनि सहयोग गर्दै आइरहेको छ । तर सामान्य रूपमा, दुई देशबिच हस्ताक्षर भएको सम्झौताबाट पछि हट्दा यी देशको सम्बन्धमा असर पर्न सक्दछ ‘ विज्ञप्तीमा भनिएको छ ।

साथै राजदूत बेरीले नेपाली नेताहरुलाई दिएको भनिएको धम्कीप्रति खण्डन गरेका छन् । ‘हामीले नेपाली नेताहरुलाई धम्की दिएका छैनौं । यो कुरा असत्य हो । यो भ्रामक सूचना एक यस्तो कार्यक्रमका विरुद्ध लक्षित जुन पारदर्शिता, जवाफदेहिता र लोकतन्त्रमा आधारित छ ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मध्य तथा दक्षिण एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले यसअघि नेपाली नेताहरुलाई एमसीसी पारित गर्न धम्कीपूर्ण दवाव दिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका थिए ।