पत्नीले इजलासमै विष सेवन गरेपछि निलम्बित न्यायाधीश गिरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो ।

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन् ।

काठमाडौं जिल्ला अदालतले थुनामै राख्न आदेश दिए पनि उच्च अदालतले थुनाबाहिरै रहेर मुद्दाको प्रतिवाद गर्ने छुट दिएको थियो । उच्च अदालतको त्यो आदेश बदर गरी सर्वोच्चले थुनामै पठाउन भनेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

उच्च अदालतको आदेशविरुद्ध गिरीकी पत्नी सर्वोच्च अदालत गएकी थिइन् । गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित उनले अनसनसमेत बस्ने गरेकी थिइन् । बुधबार बहस चलिरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै विष समेत समेत गरेकी थिइन् । त्यसपछि सर्वोच्च अदालतले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

वैवाहिक बलात्कार अभियोगमा पक्राउ गरेका गिरीलाई ०८० वैशाख १७ गते कपिलपस्तु जिल्ला अदालतका न्यायाधीश नरनारायण पौडेलको इजलासले २ लाख ७५ हजार धरौटीमा छाडेको थियो ।

यता वैशाख १९ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश उत्तम सिलवालले पनि उनलाई ५० हजार धरौटीमा छाडिदिएका थिए ।

निलम्बित न्यायाधीश गिरीकी श्रीमती आरतीद्वारा सर्वोच्च परिसरमै विष सेवन