विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री शाह, यस्तो छ अंकगणित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिँदैछन् । विश्वासको मतका लागि बिहीबार दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको छ।

५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ प्रदेश सभा सदस्य रहेका छन् । यस प्रदेशमा बहुमत ल्याउन २७ मत आवश्यक रहे पनि कुनै दलसँग बहुमत छैन ।

सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका सात गरी २५ जना पुग्छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिन स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्टको समर्थन जरूरी रहन्छ ।

यी दुईमध्ये कुनै एकले समर्थन नदिए यो सरकार अल्पमतमा पर्छ । मुख्यमन्त्री शाह स्वतन्त्र र राप्रपा प्रदेश सभा सदस्यको समर्थन पाउनेमा विश्वस्त रहेको बताउँछन् । तर राप्रपाकी प्रदेश सभा सदस्य विष्टले सरकार गठनमा साथ र सहयोग दिनेबारे कुनै निर्णय नभएको बताइन् ।

स्वतन्त्र प्रदेश सभा सदस्य जोशी भने मुख्यमन्त्री शाहले विश्वासको मत पाएपछि सरकारमा जाने तयारीमा छन् ।

विश्वासको मत पाउने टुंगो नभएपछि मुख्यमन्त्री शाह भने प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने विषयमा आन्तरिक परामर्शमा जुटेका छन् । शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् ।