पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढ्न सक्छ : विनितमणी उपाध्याय

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि गरेपछि अहिले यसको चौतर्फी आलोचना भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै नेपालमा यसको मूल्य गएको १ महिनामै ३ पटक बढेको छ । पछिल्लोपटक मूल्यवृद्धिपछि विभिन्न राजनीतिक दलनिकट विद्यार्थी सङ्गठन, यातायात व्यवसायी लगायतले त यसको विरोधमा सडक सङ्घर्षमै उत्रने निर्णय गरेका छन् । आम उपभोक्ताको दैनिक जनजीवनमा सरोकार राख्ने पेट्रोल, डिजेल, मट्टितेल, र एलपी ग्याँसमा भएको मूल्य वृद्धिका कारण अत्यावश्यक अन्य सेवा तथा उपभोगका वस्तुहरू समेत महँगिएका छन् । यसै सन्द्र्धभमा केन्द्रित रहेर सरकारी स्वामित्वमा रहेको नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायसँग टिभी अन्नपूर्णकर्मी सर्मिला सुवेदीले गरेको कुराकानी :

तपाईँहरूले पेट्रोलियम पदार्थको मूल्य बारम्बार वृद्धि गरेर जनतालाई सास्ती दिँदै हुनुहुन्छ हैन ?

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आमसर्वसाधारणलाई अप्ठ्यारो परेको छ भन्ने कुरा हामीले महसुस गरेका छौ । त्यसैले हामीले यो बाध्यात्मक अवस्थामा निकाल्नुपर्ने विज्ञप्तिमा समेत क्षमा मागिरहेका हुन्छौँ । निगम भनेको एउटा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको संस्था हो । यो  पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपालको एउटै मात्र सार्वजनिक संस्था पनि हो । त्यसैले हाम्रो पनि चाहना हुँदैन कि पेट्रोलियम पदार्थको मूल्य वृद्धि होस् । तर, अन्तर्राष्ट्रिय बजारको कारणले हामीले पेट्रोलियम पदार्थ खरिद गर्दा जुन किसिमले मूल्य बढेर आउँछ , त्यसलाई समायोजन गर्नुपर्ने हाम्रो बाध्यता हुन्छ । त्यो बाध्यताको कारणले गर्दा हामीले मूल्य बढाउनुपर्ने अवस्था आउँछ ।

पछिल्लो पटकको मूल्य बृद्धिका कारण के हुन ?

पछिल्लो ८ महिनायता हेर्नुहुन्छ भने, पछिल्लो ६ ८ महिनामा पेट्रोलियम पदार्थको मूल्य ६० डलरको हाराहारीमा  थियो ।  कच्चा तेलको त्यो मूल्य लगातार बढेर ७५ डलरको हाराहारीमा केही समय अघि पुग्यो । अहिले मैले कच्चा तेलको मूल्यको कुरा गर्दै छु । अन्तर्राष्ट्रिय बजारमा  ७५ डलरको हाराहारीमा पुगेको तेलको मूल्य केही समयलाई स्थिर जस्तो देखियो । अझ केही समय त ओरालो लागेको पनि देखियो ।  त्यसपछि निरन्तर उकालो  चढ्दै गएर अहिले कच्चा तेलको मूल्य अन्र्तराष्ट्रिय बजारमा ८६ डलरको हाराहारीमा छ ।  मुलुकमा उत्पादन हुन नसक्ने र हामीले अन्तर्राष्ट्रिय बजारमा हस्तक्षेपकारी भूमिका पनि निर्वाह गर्न नसक्ने भएकाले पनि यसको मूल्य सोही अनुसार समायोजन गर्दै जानैपर्छ । अहिले भएको यही हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बेला नेपालमा मूल्य वृद्धि गर्ने तर घटेको बेला स्थिर राख्नुहुन्छ होइन ?

यो आरोप धेरैले लगाउनुहुन्छ । तर,यो आरोपमा कुनै सत्यता छैन ।  किनभने जति बेला नेपालमा भर्खर कोभिड १९  सुरु भएको थियो ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा निगमले १० रुपैयाँसम्म घटाएको उदाहरण छ । त्यति बेला १४० रुपैयाँसम्म पेट्रोलको मूल्य कायम भएको थियो  ।  हामीले घट्दाखेरि घटाउने पनि गरेका छौँ  र बढ्दा बढाउने पनि गरेका छौँ । अब बढ्दाखेरि बढेकै अनुपातमा पनि बढाएका छैनौँ ।

यो आर्थिक  वर्षमा निगमको अवस्था ठ्याक्कै कस्तो हो ?

यो आर्थिक वर्षमा नेपाल आयल निगम निरन्तर घाटामा छ ।  पछिल्लो ८ महिनादेखि त घाटामै छौ  ।  अघिल्लो आर्थिक वर्षमा हामी करिब करिब साढे ३ अर्ब घाटामा रहेको अवस्था  छ ।  त्यसको लेखा परीक्षण हुदैंछ ।  त्यसको अन्तिम रिपोर्ट आएपछि यहाँहरूलाई हामी सार्वजनिक गरिहाल्छौ ।  पछिल्लो समय यो घाटा चुलिएर गएको छ । सम्भवतः यो  मङ्सिर महिनाको मात्रै कुरा गर्ने हो भने हामी १३–१४ अर्ब रुपैयाँ घाटामा जाने अवस्था छ ।

यता घाटामा गएको भन्दै मूल्यवृद्धि गर्ने उता नाफामा गएको भन्दै बोनस बाँड्नुलाई आम उपभोक्ताले कसरी लिने ?

हामीलाई तपाईँले भनेको जस्तै सर्वसाधारणबाट  आरोप लाग्ने गर्छ । अन्य मूलधारका मिडियाले पनि यही आरोपसहितका समाचार लेख्दै आएका छन् । हामीले निरन्तर यो आरोपको जवाफ पनि दिनु परेको छ । अब  घाटामा भएको कुरालाई घाटामा गयो भनेर मूल्यवृद्धि गर्ने कुरा  छ । तर त्यो अनुसारको मूल्य समायोजन  पनि हामीले गर्न सकेको छैनौ ।  मूल्यवृद्धि हाम्रो बाध्यता हो । भएको कुरालाई हामीले सार्वजनिक गर्नुपर्छ ।  नाफा भएको बेलामा विगतमा केही चाहिँ मिडियाहरूमा निगमको २०७६ ७७ को आर्थिक वर्षमा बोनस बाढेको कुरा प्रस्तुत गरेको थियो । तर जति हाम्रो नाफा भएको थियो त्यो नाफा भइसकेपछि नेपाल सरकारको प्रचलित बोनस ऐनको मातहतमा रहेर हाम्रो लेखा परीक्षणको जुन ब्यालेन्स सिट हो । त्यो ब्यालेन्स सिटमा हामीले कतै शीर्षक छुट्ट्याउनु पर्ने हुन्छ । त्यो प्रावधान अनुसार हामीले कर्मचारीको लागि बोनस छुट्टायौँ । तर त्यो खान पाएका छैनौँ । विगत २० वर्षदेखि यहाँ कुनै पनि कर्मचारीले बोनस पाएको चाहिँ मलाई थाहा छैन ।

पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन भएका पहल कत्तिको प्रभावकारी देखिए ?

पेट्रोलियम पदार्थको सहज आपूर्तिको लागि निगमले  विभिन्न प्रयास गरेको छ । फलस्वरूप  पेट्रोलियम व्यापारमा एउटा सहज तरिकाले पेट्रोलियम पदार्थ प्राप्त गर्ने मध्यमको रूपमा पाइपलाइन आइपुगेको छ ।  पेट्रोलियम  पदार्थ ढुवानी गर्ने विभिन्न किसिमका मोडहरू छन् ्।  हाम्रो मुलुकमा प्रचलनमा आइरहेको जुन ट्याङ्कर ट्रकबाट ढुवानी गर्ने जुन प्रथा थियो ।  त्यो प्रथाको अन्त्य भएको छ । त्यस माध्यमबाट हामीले प्राप्त गर्नेमा एउटा हवाई इन्धन मात्रै छ । त्यो पनि एकदमै थोरै मात्रामा । डिजेल र पेट्रोल भने पूर्णरुपमा  मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट अमलेखगन्जमा हामीले पाउँछौ ।  त्यहाँबाट हामीले विराटनगर भैरहवा, काठमाडौँ, जनकपुर, पोखरालगायतका स्थानमा सप्लाई गरिरहेका छौ ।

मुलुकमा अहिले क्षेत्र वा स्थानअनुसार पेट्रोलियम पदार्थको मूल्य फरक छ । यो चाहिँ किन ?

डिजेल  पेट्रोलको मूल्यमा समायोजन ग¥यौ र एउटै मूल्य राख्यौ ।   त्यो भन्दा पहिला डिजेल र मटितेलको मूल्य फरक फरक पनि हुन्थ्यो ।  पछि हामीले डिजेल र मटितेलको मूल्य पनि एउटै बनायौ ।  र हामीले केही समय अघि डेस्टिनेसन डेलिभेरि भनेर एउटा सिस्टम थियो।  तर त्यसमा अलिकति विकृति देखियो।  विकृति देखिसकेपछि त्यसलाई हामीले बन्द गरेर एक्स डिपो मूल्य भनेर राख्यौ ।  हाम्रो अब डिपोबाट १५ किलोमिटर सम्मको लागि निगमले मूल्य तोक्छ र १५ किलोमिटर भन्दा अगाडी जुन पेट्रोलपम्पहरु छन्,  उहाँहरूले आफूले ढुवानीबाट तिरेर लिएर आउनुहुन्छ । त्यो ढुवानीबाट जोडेर बिक्री गर्दा केही फरक फरक देखिन सक्छ ।

आज पनि नेपाल आयल निगमका आधिकारिक विक्रेता भनिएकै पेट्रोलपम्पमा उपभोक्ता ठगिने गरेका, पेट्रोलियम पदार्थमा मिसावटका कुरा आइरहेका हुन्छन् यसको कारण के हो ?

हो, यस्ता कुराहरू सुनिन्छन् । यस्तो सुन्दा यहाँहरूले पनि हामीलाई जानकारी गराइदिनुहोला म सबैलाई अनुरोध पनि गर्छु । निगमका विभिन्न प्रादेशिक कार्यलयहरु छन् । त्यसबाहेकका हाम्रो इन्धन डिपोहरू पनि छन् । कुनै क्षेत्रका पेट्रोल पम्पहरुले पनि गुणस्तरमा अथवा लिने पैसामा संका लाग्छ वा गलत  कार्य भैराखेको छ भने यसको उजुरी गरे छानबिन गरेर दोषीलाई कारबाही गर्ने व्यवस्था छ ।

पेट्रोल पम्पमा उपभोक्ता ठगिने गरेका, पेट्रोलियम पदार्थमा मिसावटका कुराको नियन्त्रण गर्ने दायित्व कसले कसरी निर्वाह गरिरहेको छ ?

नेपाल आयल निगम भित्रको कुरा भन्नुहुन्छ भने हाम्रो गुणस्तर नियन्त्रण तथा अनुगमन विभाग । त्यहाँ बाट पनि साथीहरू चेकजाँचको लागि जानुहुन्छ । बाहिर भने वाणिज्य विभागले पनि समय समयमा अनुगमन गर्ने गर्छ ।  गुणस्तर तथा नापतौल विभागले पनि आफ्नो अनुगमन गर्ने गर्छ । तौलको विषयमा   गुणस्तर तथा नापतौल विभागले हेर्छ  । यदि  पेट्रोलियम पदार्थका तौलको विषयमा कसैलाई शङ्का छ भने आमजनताले  निगमलाई सिधै सम्पर्क पनि गर्न सक्नुहुन्छ अथवा गुणस्तर तथा नापतौल विभागलाई वा उसको मातहतमा रहेका कार्यालयहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ । यी विभिन्न निकायबाट चेकजाँच भैरहेको हुन्छ । जिल्लामा भने जिल्ला प्रशासन कार्यालयबाट पनि बेला बेलामा अनुगमन भैराखेको हुन्छ । यो अनुगमनको कार्य निरन्तर भइराखेको हुन्छ ।

अब फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने सम्भावना कति छ ?

यो सम्भावना छ । यहाँलाई प्रस्टसँग भन्दा फेरी पनि मूल्य वृद्धि हुन्छ । हालसालै हामीले प्राप्त गरेको मूल्यसुचि अनुसार मूल्यवृद्धि हुने सम्भावना छ । निगमको अवस्था हेरेर पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नु पर्ने हामीलाई बाध्यात्मक अवस्था छ ।

 

 

 

 

सम्बन्धित समाचार