मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरूद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताहरूले सुर्खेतस्थित कांग्रेसको पार्टी कार्यालय तोडपलोड गरेका छन् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा प्रदर्शनकारीले कांग्रेसको पार्टी कार्यालय र बजार क्षेत्रका घरका सीसा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यस्तै, उनीहरूले सुरक्षामा खटिएका प्रहरीमाथि समेत ढुंगामुढा गरेका छन् ।
‘शान्तिपूर्ण ढंगले तपाईंको कार्यक्रम गर्नुस् भनेर हामीले भन्दाभन्दै पनि सुरक्षाकर्मीमाथि ढुंगामुढा भएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने ।
प्रहरी र बन्दकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन दर्जन बढी सेल अश्रुग्यास समेत हानेको छ ।
प्रहरीले बन्दकर्ताहरूलाई ढुंगामुढा नगर्न आग्रह गर्दै माइकिङ गरिरहेको छ । तर, बन्दकर्ताहरू भने विभिन्न गल्लीबाट निस्किएर प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् ।














