जबराविरूद्धको महाअभियोगको प्रस्ताव पारित गर्न नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्धको महाअभियोगको प्रस्ताव पारित गर्न माग राखेको छ । एशोसिएशनको अखिल नेपाल कानुन व्यवसायीको १५ औं राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बारले राणामाथि लगाइएको महाअभियोगको प्रस्तावलाई स्वागत गर्दै प्रस्तावमाथि यथाशिघ्र कारबाही प्रारम्भ गरी पारित गर्न माग गरेको हो । राणाको बहिर्गमन नै न्यायपालिकाको सुधारको सम्पूर्ण आधार नभएको र केबल सुधारको प्रस्थान विन्दुमात्रै भएको बारको भनाई छ ।

घोषणा पत्रमा अदालतमा व्याप्त भ्रष्टाचारको निर्मुलका लागि अन्य भ्रष्टाचार, सेटिङ र पूर्वाग्रहमा परी न्यायमा विचलन ल्याउने भनि शंकास्पद भूमिका देखिएका सर्वोच्च तथा अरू अदालतका न्यायाधीशहरूको सम्बन्धमा समेत छानविन प्रक्रिया अघि बढाएर कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । त्यस्तै न्यायाधीश र अदालतको अधिकृतको रूपमा सहयोग पु¥याउने कानुन व्यवसायी समेतलाई पदक दिने र लिने कामलाई निरूत्साहित गर्नुपर्ने बारले जनाएको छ । पत्रकार सम्मेलनमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणाविरूद्धको महाअभियोगको प्रस्ताव अघि बढाउनका लागि प्रस्तावक र समर्थकसंग छलफल गरेको र यसलाई अघि बढाइने जानकारी पाएको बताए ।