असईबाट कुटिए प्रहरी जवान

महोत्तरीमा प्रहरी एक जना सहायक निरीक्षकले प्रहरी जवानलाई निर्घात रूपमा कुटपिट गरेका छन् । महोत्तरीको जलेश्वर नगरपालिकामा रहेको अस्थायी प्रहरी पोष्टका इन्चार्ज मोतीराम महतोले सोही प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान जयनारायण पटेललाई निर्घात रूपमा कुटपिट गरेका हुन् । शनिबार बिहान ९ बजे खाना पकाई रहेका पटेलमाथि असई महतोले गाली गलौज गर्दै कुटपिट थालेका थिए ।

नेपाली कांग्रेस महोत्तरीको जिल्ला अधिवेशनका लागि बनाइएको अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीलाई होटलमा खानाका लागि कुपन उपलब्ध गराइएको थियो तर प्रहरी जवान पटेललाई सो विषयमा जानकारी थिएन।

प्रहरी जवान पटेलले भने, ‘खाना पाउनका लागि आलुको भुजिया काट्दै थिएँ। असई साहेब आएर मलाई गालीगलौज गर्न थाले। त्यसपछि मुक्का, खुट्टा तथा लाठीले निर्घात रूपमा कुटपिट गरे।ु

यससम्बन्धमा असई महतोले कामको दवाब र तनावकाबिच आफूले लाठीले कुटेकोमा आफूलाई पछुतो लागेको प्रतिक्रिया दिएका छन् । यद्यपि आफूले गाली गलौजका साथै एक लाठी हिर्काउनुबाहेक केही नगरेको बताए।

असई महतोले खाना पकाउने ड्युटी रहेका पटेलले नपकाउँदा भोकै सुत्नु परेको बताए। आफूले कहिल्यै केही नगरेको बरु जिल्लामा यो जवान मलाई चाहिँदैन भनेर एसपीलाई मौखिक जानकारी गराएका बताए।

जलेश्वर नगरपालिकास्थित उक्त अस्थायी प्रहरी पोष्टमा हाल एकजना असई, २ जना हवल्दार र ५ जना प्रहरी जवान कार्यरत छन् । यस अघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्चार्ज इन्स्पेक्टर बेचन यादवले सोही प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवान माथि दुर्व्यवहार गरेको घटना केही दिन अगाडी मात्रै बाहिरिएको थियो ।